Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री बालेनको १२ वर्ष पुरानो र्‍याप भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ४ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को १२ वर्ष पुरानो र्‍याप ब्याटल भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको छ ।

उक्त भिडिओ महिला तथा यौनिक अल्पसङ्ख्यक  समुदायविरुद्ध घृणास्पद अभिव्यक्ति समावेश रहेको आरोप लगाइएको छ ।

विवेक मगर, रोजी पुन, महिन्द्रसिँह दनुवार र पवन राई ९बाबु० ले संयुक्त रूपमा शुक्रबार उजुरी दायर गरेका हुन् ।

उजुरीमा ‘सङ्ग्स नेपाल’ युट्युब च्यानलमा अपलोड गरिएको २० मिनेट १४ सेकेन्ड लामो भिडिओको लिंकसमेत समावेश गरिएको छ।

भिडिओमा प्रयोग गरिएका शब्दहरू महिला विरोधी, अपमानजनक तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायविरुद्ध घृणात्मक रहेको उजुरीमा उल्लेख गरिएको छ ।

साथै केही अभिव्यक्तिहरूले बलात्कार तथा यौन हिंसालाई सामान्यीकरण गर्ने र समुदायलाई तुच्छ देखाउने आशय व्यक्त गरेको आरोप लगाइएको छ ।

हाल शाह देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) पदमा रहेको सन्दर्भमा यस्तो सामग्रीले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पार्ने दाबी उजुरीकर्ताहरूले गरेका छन् ।

उनीहरूले यस्तो अभिव्यक्तिले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र समानताको अधिकारमाथि आघात पुर्‍याएको उल्लेख गरेका छन् ।

उजुरीमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सार्वजनिक मर्यादा, शिष्टता तथा सामाजिक सद्भावविपरीत हुने सामग्री भएकाले यसलाई गैरकानुनी रूपमा लिनुपर्ने जिकिर गरिएको छ ।

साथै उक्त भिडिओ साइबर अपराधअन्तर्गत पर्ने देखिएको भन्दै आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

उक्त भिडिओको भ्युज करिब १ करोड ५० लाख रहेको जनाइएको छ । उजुरीकर्ताहरूले यसबाट भएको आम्दानीलाई लैङ्गिक अल्पसङ्ख्यक समुदायसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने सामग्रीमा प्रयोग गराउनुपर्ने माग पनि अघि सारेका छन् ।

साथै, भिडिओ हटाउने, सार्वजनिक रूपमा माफी माग्ने र प्रभावित पक्षलाई उचित क्षतिपूर्ति दिलाउनुपर्ने मागसमेत गरिएको छ ।


प्रतिकृया दिनुहोस्