
काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दाय गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनीविरद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।
उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको उजुरी परेको थियो। त्यसमा छानिबन गर्दा आयभन्दा बढी सम्पत्ति देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ।
अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, २०४४ भदौ १९ मा सार्वजनिक पद धारण गरेका उनी २०७८ वैशाख १ मा काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदबाट अवकास पाएका थिए।
त्यो अवधिको आयको हिसाब गर्दा १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ २५ पैसा आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। तर, यो अवधिमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा सम्पत्ति देखिएको आरोपत्रमा जिकिर गरिएको छ।
यसरी आय आर्जन गरेभन्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बढी देखिएको जनाइएको छ। यसको आय स्रोत नदेखिएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिए।
यस मुद्दामा अख्तियारले उनकी पत्नी मिनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ। उनीहरूको नाममा रहेको सम्पत्तिबाट पनि असुलउपर गर्न माग दाबी गरिएको छ।














