
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ ।
राप्रपाको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशमा हुने बैठकको मिति तय गरेको छ ।
पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार समीक्षा बैठक वैशाखको दोस्रो सातासम्म सम्पन्न हुनेछ ।
बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा क्षेत्रीय अध्यक्ष, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उमेदवार एवं जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ ।
पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने सबै प्रदेशको समीक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन एवं केन्द्रीय पदाधिकारीहरू सहभागी हुने राप्रपाले जनाएको छ ।














