
काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् ।
संघीय संसदीय समितिका सभापतिमा उमेदवारीका विषयमा नेताहरूले छलफल गरिरहेका हुन् ।
सिंहदबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा छलफल जारी छ ।
छलफलमा कांग्रेसका अर्जुननरसिंह केसी, गुरुप्रसाद घिमिरे, भीष्मराज आङ्देम्बे, नेकपा (एमाले)की पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाललगायत नेता एवं सांसद सहभागी छन् ।
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुने तय छ । त्यसनिम्ति आज (वैशाख ३) मनोनयनपत्र दर्ता गरिँदै छ ।
मनोनयनपत्र दर्ताका निम्ति दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।
सभापतिमा निर्वाचित हुन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन आवश्यक हुन्छ । यही विषयमा निर्णय गर्न रास्वपा संसदीय दलको बैठक पनि सिंहदबारमा जारी छ ।













