
२ बैशाख, काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् ।
संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् ।
बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिसहरू सवार रहेको कारण डुंगा समुद्रमा डुबेको समाचारमा उल्लेख छ ।
बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई ९ अप्रिलमा उनीहरूको एक जहाजले डुंगा दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो । उक्त डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।













