
२ बैशाख, काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगमा पर्याप्त सावधानी आवश्यक हुने बताएका छन् ।
सरकारले ल्याएको राष्ट्रिय प्रतिवद्धतामा प्रयुक्त शब्दहरुको सन्दर्भमा नेता ज्ञवालीले यस्तो बताएका हुन् ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् । हाम्रा छिमेकीहरू बिच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् ।’
उनले अगाडी लेखेका छन्, ‘राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो । मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन् । त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैँभर उही मापन र आयतन नरहन पनि सक्छ ।’
उनले सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषयमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ ।’ यस्तो विषय ‘समनिकटता’ र ‘समदूरी’ का हकमा पनि लागु हुने उनको तर्क छ ।














