Skip

Hamro Sanchar

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २८ गते


२८ चैत, काठमाडौं । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ । शुक्रबार प्रदेशको (चैत २७) श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरिएको हो ।

नयाँ भाडादर आजदेखि लागु गरिएको छ । योसँगै अब काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रीवाहक सार्वजनिक सवारीसाधनमा न्यूनतम २४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । पाँच किलोमिटरसम्म दूरीका निम्ति २४ रुपैयाँ भाडा कायम गरिएको हो । पाँच किलोमिटरसम्मको भाडा यसअघि १९ रुपैयाँ थियो ।

१० किलोमिटरसम्म ३३ रुपैयाँ भाडा निर्धारण गरिएको छ । १५ किलोमिटरसम्म ३९ रुपैयाँ भाडा कायम गरिएको प्रदेश राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

यस्तै, २० किलोमिटरसम्म ४४ रुपैयाँ भाडा निर्धारण गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका निम्ति ५० रुपैयाँ भाडा कायम गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला ९सरोज०ले यो भाडादर पेट्रोल र डिजेलबाट सञ्चालित सवारीसाधनमा मात्र लागु हुने स्पष्ट पारे ।

“विद्युतीय सवारीसाधनमा पनि हुनुपर्ने हो, तर तत्काललाई गरिएको छैन । अहिले तत्काललाई डिजेल, पेट्रोलबाट चल्ने सवारीको मात्र भाडादर समायोजन भएको हो,” उनले बाह्रखरीसित भने ।

विद्युतीय सवारीसाधनमा भने साबिककै भाडादर लागु हुने उनले जानकारी दिए । “अहिले तत्काललाई विद्युतीय सवारीसाधनमा पहिला ०७९ सालमा जे तय भएको हो, त्यो नै अहिले लागु हुन्छ,” उनले भने ।

उनले राजपत्रमा प्रकाशित सूचनाअनुसार भाडा लिनदिन सम्बन्धित सबैमा आग्रह समेत गरे । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिसँगै सवारीसाधनको भाडा बढाइएको हो ।

 


प्रतिकृया दिनुहोस्