
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले सार्वजनिक गरेको कक्षा ८ स्तरीय परीक्षाको नतिजाले समग्र शिक्षा प्रणालीप्रति चिन्ता बढाएको छ। समग्र उत्तीर्ण प्रतिशत ३०.२ मात्र रहनुले शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तह सबैको भूमिकामाथि प्रश्न खडा गरेको छ।
कुल २४४ विद्यार्थी सहभागी भएको परीक्षामा ६८ जना मात्र उत्तीर्ण भएका छन् भने ५१ जनाले मौका परीक्षा दिने अवसर पाएका छन्। धेरै विद्यालयको नतिजा कमजोर देखिएको छ भने केही विद्यालयमा अत्यन्त न्यून उपलब्धि रहेको छ।
विशेषगरी शिक्षक पक्षमा देखिएको कमजोरीप्रति स्थानीय स्तरमा आलोचना बढ्न थालेको छ। कतिपय शिक्षकहरू विद्यालयीय जिम्मेवारीभन्दा बढी पार्टीका कार्यक्रम तथा अन्य गतिविधिमा केन्द्रित हुने गरेको गुनासो उठेको छ, जसले शिक्षण–सिकाइ प्रक्रियामा प्रत्यक्ष असर पार्ने गरेको अभिभावकहरू बताउँछन्।
त्यसैगरी, स्थानीय स्तरमै शिक्षक भर्ती गर्ने अभ्यास पनि विवादको विषय बनेको छ। योग्यता र प्रतिस्पर्धाभन्दा नजिकको सम्बन्ध, पहुँच वा प्रभावका आधारमा शिक्षक नियुक्त हुने प्रवृत्तिले शिक्षाको गुणस्तरमा असर पारेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
विद्यार्थी र अभिभावक पक्ष पनि जिम्मेवारीबाट मुक्त छैनन्। नियमित अध्ययन, अनुशासन र घरमै सिकाइ वातावरण निर्माणमा देखिएको कमजोरीले पनि नतिजामा प्रभाव पारेको देखिन्छ।
विद्यालय व्यवस्थापन र गाउँपालिकाको भूमिकामा समेत सुधार आवश्यक देखिएको छ। प्रभावकारी अनुगमन, शिक्षकको कार्यसम्पादन मूल्याङ्कन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक नीतिगत कदमहरू अझ सशक्त बनाउनुपर्ने देखिन्छ।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यस्तो अवस्थालाई गम्भीरतापूर्वक लिएर सुधारका ठोस कदम चाल्न जरुरी छ। शिक्षकको जिम्मेवारी सुनिश्चित गर्ने, पारदर्शी भर्ती प्रक्रिया अपनाउने, अतिरिक्त कक्षा सञ्चालन गर्ने र अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउने जस्ता उपायहरू तत्काल आवश्यक रहेको उनीहरूको सुझाव छ।
गाउँपालिकाले मौका परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ भने कमजोर नतिजा सुधारका लागि आवश्यक रणनीति अपनाउने जनाएको छ। अब सबै पक्ष मिलेर शिक्षा सुधारमा लाग्नुपर्ने चुनौती स्पष्ट देखिएको छ।













