
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत प्रचण्डको राजनीतिक यात्रा, गणतन्त्र स्थापनामा उनको भूमिका र ‘प्रचण्डपथ’ सम्बन्धी धारणा सार्वजनिक गर्दै नयाँ बहस सुरु गरेका छन्।
मिश्रले नेपालको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनाको प्रक्रियामा प्रचण्डको नेतृत्वलाई महत्वपूर्ण योगदानका रूपमा स्वीकार गर्दै उनको प्रभावलाई नकार्न नसकिने बताएका छन्।
उनका अनुसार गणतन्त्रात्मक व्यवस्था विभिन्न राजनीतिक शक्तिहरूको योगदानबाट बने पनि निर्णायक भूमिकामा प्रचण्डको नेतृत्व रहेको देखिन्छ।
उनले “प्रचण्डपथ” भन्ने शब्दावली प्रयोग गर्दै प्रचण्डको राजनीतिक विचारधारा र प्रभाव नेपाली राजनीतिमा गहिरो रूपमा स्थापित भएको संकेत गरेका छन्। मिश्रका अनुसार यो प्रभाव व्यक्तिगत सीमाभन्दा बाहिर विस्तार हुँदै एक राजनीतिक प्रवृत्तिका रूपमा विकसित भएको छ।
स्टाटसमा उनले व्यंग्यात्मक शैलीमा विभिन्न दलहरूलाई संकेत गर्दै “प्रचण्डवादी” र “अवसरवादी” प्रवृत्तिको चर्चा गरेका छन्। साथै, सिङ्गो देश एउटै वैचारिक प्रभावमा सीमित हुनु दीर्घकालीन रूपमा उचित नहुने भन्दै उनले सन्तुलनका लागि “पृथ्वीवाद” नामक वैकल्पिक राजनीतिक विचारधाराको आवश्यकता औँल्याएका छन्।
उनको अभिव्यक्तिले प्रचण्डको योगदानलाई ऐतिहासिक रूपमा स्वीकार गर्दै पनि नेपाली राजनीतिमा वैचारिक विविधता र नयाँ विकल्पको बहसलाई पुनः सतहमा ल्याएको छ।















