Skip

Hamro Sanchar

कार्की आयोगलाई प्रचण्डको बयान : युवाहरूको भावनालाई गलत तत्त्वले प्रयोग गरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीको भावनालाई समर्थन गरे पनि भदौ २३–२४ को आन्दोलनमा पार्टीको सहभागित नभएको बयान दिएका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा दिएको बयानमा उनले पार्टीसँग सम्बन्धित व्यक्ति संलग्न भए कारबाही हुनुपर्ने बताएका छन् ।

“भदौ २४ गते सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकारविरुद्धको आक्रोश मात्र नभई व्यवस्थामाथि नै प्रहार गर्ने नियोजित प्रयास थियो भन्ने मेरो धारणा छ । मेरो पार्टीले जियनजेड आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्नता छैन,” प्रचण्डले भनेका छन्, “यदि हाम्रो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुनविपरीत क्रियाकलापमा संलभएको प्रमाणित भए, उसले कानुनी कारबाही भोग्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।”

उनले भदौ २४ को घटनामा आन्तरिक तथा बाह्य घुसपैठको सम्भावना देखिएको बताएका छन् ।

“युवाहरूले भदौ २३ गते नै आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरेका थिए । त्यसपछि देखिएको घटनाक्रमले गलत तत्त्वहरूले युवाहरूको भावनालाई प्रयोग गरेको संकेत गर्दछ,” प्रचण्डले भनेका छन् ।


प्रतिकृया दिनुहोस्