Skip

Hamro Sanchar

श्रीमतीको हत्या गरेर प्रहरीमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


काठमाडौं । विराटनगर महानगरपालिका९१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका९१५ की कोमलकुमारी साहको शव भएको खुलेको हो ।

प्रहरीका अनुसार कोमलकुमारीका श्रीमान् रोशन साहले श्रीमती हराएको निवेदन दिएका थिए । कल्भर्टमुनि भेटिएको शव र हराएकी महिलाको हुलिया मिलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार पत्नी हराएको निवेदन दिने रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रोशनले श्रीमतीको हत्यापछि शवलाई लुकाउन तन्नामा पोको पारेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि फालेका हुन् । शव भेटिएको स्थान र मृतकको घर करिब ५ किलोमिटरको दूरीमा छ ।

कोमलकुमारी चैत ६ गतेदेखि घरमा थिइनन् । श्रीमती हराएको भन्दै रोशनले दुई दिनपछि चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए ।

प्रहरीमा निवेदन परेको दुई दिनपछि मंगलबार बेलुका कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा शव भेटियो । स्थानीयले शव भेटेपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँलाई खबर गरेका थिए ।


प्रतिकृया दिनुहोस्