Skip

Hamro Sanchar

बाहिरिँदै वर्षा गराउने प्रणाली, भोलि सफा हुने बलियो सम्भावना : मौसमविद्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ७ गते


काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा गराएको मौसमी प्रणाली बाहिरिने क्रममा छ ।

शुक्रबार (चैत ६) बिहानदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको थियो । यति बेला (शनिबार दिउँसो ३ः४० बजे) पनि काठमाडौंसहित केही भूभागमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

शुक्रबारदेखि सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पछिल्लो २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जनरचट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीले वर्षा गराउने यो प्रणाली कमजोर हुँदै पश्चिम नेपालबाट बाहिरिँदै आएको उल्लेख गरेका छन् ।

अबका एक-दुई घण्टामा काठमाडौंलगायत स्थानमा भइरहेको सिमसिम वर्षा घट्दैरहट्दै जाने उनको पूर्वानुमान छ ।

“पश्चिमी वायुको प्रभावले आएको वर्षा गराउने प्रणाली कमजोर हुँदै पश्चिम नेपालबाट बाहिरिँदै आएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अबको एक–दुई घण्टामा काठमाडौंलगायतमा भइरहेको सिमसिम वर्षा घट्दै – हट्दै राति कोसी प्रदेशबाट बाहिरिने सम्भावना छ ।”

आइतबार (चैत ८)मौसम सफा हुने सम्भावना बलियो रहेको उनले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्