
काठमाडौं । रास्वपाबाट समानुपातिक सांसद बन्न नसकेपछि गायक प्रकाश सपूतले आफ्नो भनाई सार्वजनिक गरेका छन्। जीवनको ५ वर्ष देशलाई दिने सोचले राजनीतिमा लागेको भए पनि अब कलाकारितामै फर्किएको उनको भनाइ छ ।
फेसबुकमा स्टाटस लेख्दै उनले राजनीतिमा होमिने निर्णय आफूले होसहवासमै लिएको बताएका छन् । नेता वा सांसद हुनका लागि यसअगाडि पनि थुप्रै अवसर आएको भन्दै उनले यसपटक प्रतिनिधिसभामा जानुको उद्देश्य तीन बुँदामा उल्लेख गरेका छन्,:
१.नयाँ समय र आन्दोलनलाई सम्बोधन गर्न, पुरानो राजनीतिक अभ्यास, अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न एउटा नयाँ राजनीतिक शक्तिका रुपमा स्थापित हुन रास्वपालाई समर्थन र सहयोग गर्ने
२. बालेनको नेतृत्वमा स्थायी सरकार निर्माण गर्न खुलेर लागी पर्ने
३. यसरी स्थापित नयाँ शक्ति र सरकारलाई उपेक्षित उत्पिडित हाम्रो समुदायको अनुहार देखाईरहने र झकझकाई रहने ।
‘यी ३ उद्देश्यले होमिएको निर्वाचन पछि मलाई ञम छुटेँझ भन्ने त लागेको छ तर, आफ्नो उद्देश्य पुरा भएकोमा छोटो तयारीकाबीच उत्कृष्ट नम्बर लिएर पास भएको कुनै स्कुले विधार्थी जस्तैः फुरुङग भएको छु,’ सपूतले लेखेका छन्, ‘मेरो कुनै गुनासो छैन । म मेरा केही शुभेच्छुक, मेरो जन्म गाउँ, जिल्ला र जो मलाई सदनमा देख्न चाहन्थे उनीहरुका निम्ति दुखी छु ।’
सपुतले सांसद बन्न सबै तयारी गरिरहेको बताएका छन् ।
‘ऐतिहासिक अवसर र ज़िम्मेवारी प्राप्त हुँदै थियो । यदि सांसद भएको भए के- के गर्न सकिन्छ भन्ने तयारी र छलफल पनि हामीले थालेका थियौ । ग़ैरराजनीतिक दलित अधिकारकर्मीहरुसंग म निरन्तर छलफलमा थिए । संस्कृतिकर्मी र पर्यटन व्यवसायीहरुसंग निरन्तर कुराकनी भैरहेको थियो । किनकि मलाई पहिलो उत्पीडित समुदायको मुद्दामा र अर्को नेपाली रैथाने मौलिक संस्कृतिको क्षेत्रमा ठोस नीति र योजना बनाएर काम गर्न सकिन्छ भन्ने लागेको थियो । धेरै थोक गर्न नखोज्ने यस्तै २र३ वटा विषयलाई फोकस गरेर यो पाँच वर्ष संसदीय अभ्यास गर्ने र ३ तहकै सरकार संग समन्वय गरेर फिल्डमै खटिएर पनि काम गर्ने सोच बनाएका थियौ, उनले लेखेका छन् ।














