
काठमाडौं गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन्।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताए।
उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरे।
गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उच्छृंखल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताए।
गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ। अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन्।
उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरू परिचालित छन्। त्यो अनुसार अब सबै अहिले सुरक्षा संयन्त्रहरू मतदान स्थलसम्म पुगेका छन्। र अब जतिखेर जे आवश्यक पर्छ, परिएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरी देशभरि नै पूर्ण रूपमा अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ।’
गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनै पनि प्रकारको असुरक्षाको महसुस गर्नुपर्ने स्पष्ट पारे।













