
पर्सा । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार चोकमा चेकजाँचको क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)उमेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला परेको छ ।
प्रहरीका अनुसार राति करिब ११ बजे चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा क्षेत्र नम्बर–२ मा उम्मेदवार रहेका मनोजकुमार चौधरी सवार गाडीको डिक्कीमा शंकास्पद वस्तु भेटिएको हो।
उनले प्रयोग गर्ने बा १० च १२५० नम्बरको गाडी भित्र टिनको बाक्सामा खैरो टेपले बेरिएको, कालो र रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरीले उम्मेदवार मनोज कुमार सहित गाडीमा सवार चार जनालाई राति नै नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गाडीमा उम्मेदवार चौधरीसँगै पर्सागढी नगरपालिकाका नगर प्रमुखका प्रत्यासी सत्यनारायण दास र सुरज कार्की सवार थिए।
गाडी चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बृजलाल पासवानका अनुसार होली मनाउन तथा कार्यकर्ता भेटघाटका लागि क्षेत्रमा घुम्ने क्रममा बढनियार चोकमा उम्मेदवार मनोज चौधरी चढेको गाडी प्रहरीले चेकजाँच गरेको थियो।
त्यस क्रममा प्रहरीले गाडीमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला पारेपछि गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई राति नै जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखेको थियो। पासवान चौधरी चढेको गाडीको पछि-पछि अर्को गाडीमा थिए।
राति नै गाडी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।













