
काठमाडौं । कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने भएको छ ।
कतारको आन्तरिक मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरी (शनिबार)देखि लागू हुने गरी एक महिनाका लागि थप गरेको जनाएको हो ।
मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वचालित रूपमा गरिनेछ । यसका लागि सम्बन्धित व्यक्तिले कुनै शुल्क तिर्नु नपर्ने र कार्यालय धाउन वा थप निवेदन दिनु नपर्ने स्पष्ट पारिएको छ ।
तर, २८ फेब्रुअरीभन्दा अगाडि भिसा उल्लंघन ९ओभरस्टे० गरेका व्यक्तिहरूले भने ओभरस्टे अवधिको तोकिएको जरिवाना पहिले बुझाउनुपर्नेछ ।
जरिवाना तिरेपछि मात्रै उनीहरूलाई पनि सोही मितिदेखि लागू हुने गरी नवीकरण र शुल्क छुटको सुविधा उपलब्ध हुनेछ ।
मध्यपूर्वी देशमा उत्पन्न तनावपछि मन्त्रालयले पछिल्लो अवस्थालाई ध्यानमा राख्दै कानुनी हैसियत कायम राख्न आवश्यक कदम समयमै चालिने जनाएको छ ।
साथै सर्वसाधारणलाई घरभित्रै बस्न, अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कन, झ्याल तथा खुला स्थानबाट टाढा रहन र सम्बन्धित निकायबाट जारी आधिकारिक निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
थप जानकारीका लागि मन्त्रालयका आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सूचना लिन पनि अनुरोध गरिएको छ ।













