Skip

Hamro Sanchar

एमाले नेता गुरुङले भने : तारामा भोट हालौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १८ गते


काठमाडौं । नेकपा (एमाले)का नेता बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मत दिन आह्वान गरेका छन् । गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत सो आह्वान गरेका हुन् ।

उनले विगतमा एमालेको मत घट्दा माओवादीको बढ्ने र माओवादीको घट्दा एमालेको बढ्ने गरेको भए पनि योपटकको चुनावमा त्यो मत बाहिर जाने सम्भावना रहेकोले कम्युनिस्ट मत कम्युनिस्टमै हाल्न आह्वान गरे ।

‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ’, उनले लेखेका छन्, ‘ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिह्नमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिह्नमा हालौँ, तर अन्य पार्टीमा नहालौँ ।’

यस्तो छ उनको भनाइ

नेपालमा बामपन्थी कम्युनिस्टहरुको मत बढी छ तर विभाजित छ । विभाजित हुनु दुर्भाग्य हो तर कम्युनिस्टको मत कम्युनिस्ट पार्टीमा नै यता उता हुनु अर्थात् अन्त बुर्जुवा पार्टीतिर नसर्नु सकारात्मक थियो। विगतमा माओबादी को आकार बढ्दा एमालेको आकार घटेको थियो एमालेको आकार बढ्दा माओवादीको घटेको थियो एमाले माओबादी मिल्दा झण्डै दुई तिहाई पुगेको थियो ।

तर, अहिलेको निर्वाचनमा ती दुई पार्टीमा भोट हाल्दै आएका मतदाताहरुले कतै मत परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हालेमा तिनीहरू फेरि बामपन्थी पार्टीमा फर्केर आउने सम्भावना कम हुन्छ अर्थात् तिनीहरू सधैंको लागि बुर्जुवा वर्गमा पलायन हुन सक्छन्।अर्को पालीको निर्वाचनमा नेपालमा बामपन्थी कम्युनिस्ट पार्टीहरू रक्षात्मक र कमजोर हुन सक्छन ।

त्यसैले कम्युनिस्ट पार्टीको मत आ आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौं बुर्जुवातिर सार्ने गल्ती नगरौं। ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौं, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौं तर अन्य पार्टीमा नहालौँ ।


प्रतिकृया दिनुहोस्