Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले गरे एमालेमा स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन्।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका उनी यसपालि पनि टिकटको आकांक्षी थिए।

तर यसपटक रास्वपाले मोरङ-२ मा उम्मेदवार परिवर्तन गर्दै कृष्ण कार्कीलाई टिकट दिएपछि असन्तुष्ट न्यौपाने पार्टी परित्याग गर्दै एमालेमा भित्रिएका हुन्।

शुक्रबार साँझ झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका थिए।

त्यसको भोलिपल्ट आज बिहान न्यौपानेले विराटनगरमा पत्रकार सम्मेलन गरी रास्वपा त्याग्नुको कारण बताएका छन्।

‘एक महिना १० दिनसम्म मेरो टिकट किन आएन भन्ने प्रश्नको जवाफ खोज्न मैले हिजो रातिसम्म पर्खिएँ, तर कुनै जवाफ पाउन सकिनँ’, उनले भने, ‘मतदाताको विश्वासमाथि कुठाराघात गर्न नसकेर र यो माटोलाई धोका दिन नसकेर म बाध्य भएर राष्ट्रवादी शक्ति एमाले रोज्न पुगेको हुँ।’

उनले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बालेनलाई लक्ष्य गर्दै पार्टीका नेता ‘फ्रि फायर र पब्जीका सिपाही’जस्ता भएको टिप्पणी गरे।

अहिले रास्वपाका उम्मेदवारहरूको भावभङ्गी र व्यवहारले आफूलाई झस्काएको दाबी उनले गरे।

उनले मतदाताहरूलाई आग्रह गर्दै भने, ‘तपाईँले मत दिने प्रतिनिधि वा दल समाजप्रति कति उत्तरदायी छ र उसको पृष्ठभूमि के हो भन्ने नबुझी मत नदिनुहोला।’

यस्तै न्यौपानेले एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ को नाकाबन्दीका बेला लिएको राष्ट्रवादी अडान र समृद्ध नेपाल, सुखी नेपालीको नारा आफ्ना लागि प्रेरणा बनेको दाबी गरे।


प्रतिकृया दिनुहोस्