
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको नाम जोडेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई पठाइएको भनिएको पत्र पूर्ण रूपमा नक्कली भएको रास्वपाले दाबी गरेको छ ।
पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि ‘नेपाल प्रेस’ लगायत केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको पत्र पूर्णतया कपोलकल्पित र किर्ते रहेको छ।
उनले यसलाई अत्यन्तै निन्दनीय कार्य भन्दै, संवेदनशील विषयमा गलत जानकारी फैलाउनु स्वदेश र दुई देशबीचको द्विपक्षीय सम्बन्धमा खलल पुर्याउने खतरा भएको चेतावनी दिएका छन्।
अध्यक्ष खनालले भने, “आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र द्विपक्षीय सम्बन्धमा खलल पुर्याउने उद्देश्यले यस्ता प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिन्छ।”
पार्टीले सम्पूर्ण सञ्चारकर्मी र पत्रकारहरूलाई यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुअघि सत्यता जाँच्न र जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, आम सर्वसाधारणलाई पनि फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न चेतावनी दिइएको छ।
अन्तमा पार्टीले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको र सत्य र तथ्यको पक्षमा उभिनु सबैको साझा दायित्व भएको जोड दिएको छ।













