Skip

Hamro Sanchar

 गगन थापाकाे आश्वासन : ०७४ यताका वर्ष दुर्भाग्यपूर्ण, ०८२-८७ स्वर्णिम काल बनाउँछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १४ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको टिप्पणी गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको बताएका हुन् ।

‘२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो,’ सभापति थापाले भने, ‘केबल सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउने कुनै–कुनै रूपमा त्यसैको वरिपरि रहिरह्यो ।’

त्यसैका कारण संविधानमा सुनका अक्षरमा लेखिएका शब्द कार्यान्वयन हुन नसकेको उनले बताए । यो अवधिमा न मधेशको पीडा र कर्णालीको घाउ पनि थाहा नभएको उनले बताए ।

‘०५२ साल ०६३र६४ सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठुलो केही थिएन,’ उनले भने, ‘त्यो हिंसाबाट बाहिर निस्कएपछि हामीले केही न केही गर्नुपर्थ्यो । त्यो हुन सकेन ।’

अबको समय खेर फाल्ने छुट नरहेको सभापति थापाले बताए । ‘अब २०८२ देखि ०८७ सम्मको पाँच वर्ष देश र जनतालाई हामी सबैभन्दा स्वर्णिम काल हामी बनाउँछौँ,’ उनले भने ।

बदलिएको कांग्रेसमा देशको उन्नतिको भोक रहेको उनले बताए । ‘पेटमा भोक छ, आँखामा सपना छ । हामी योजना बनाएर आएका छौँ, हामी सम्हालेर जान चाहेका छौँ,’ सभापति थापाले भने ।


प्रतिकृया दिनुहोस्