
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले पार्टी छाडेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु होू लेखेका छन् ।
राई अघिल्लोपटक कास्की निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाबाट प्रतिनिधिसभाको उमेदवार थिए । १० हजार ९४१ मत ल्याएर तेश्रो बनेका राई यसपटक पनि टिकटका आकांक्षी थिए । तर, सो क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन साहनिकटका खडकराज पौडेलले टिकट पाए ।
त्यसपछि असन्तुष्ट बनेका उनले पार्टीले यसबारे केही सम्बोधन नगरेको बताए । सोझो र इमानदारले राजनीति गर्न नहुने र राजनीति र पार्टीको लागि समय खेर नफाल्ने बुझाई उनले फेसबुकमा उल्लेख गरेका छन् ।
“राजनीति भनेको सोझो र इमानदारीले गर्ने काम होइन रहेछ । आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन । स्वतन्त्र नगरिक भएर समाज सेवा मा लाग्नेछु,” उनले लेखेका छन् ।
के तपाईंसँग टिकटको लागि पैसा मागिएको हो ? भनेर हामीले उनलाई सोधेका थियौँ । उनले रकम नमागिएको तर, रास्वपा विधानअनुसार नचलेको बताए ।
“हामी पुराना मान्छेसँग मागिएन । हिजो टिकट किन्नुपर्दैन, नेता चिन्नुपर्दैन भनेर बोलिएको थियो । अहिले चाहिँ नेता चिन्नुपर्ने लाग्यो । पार्टी नै हाइज्याक भयो । रास्वपा अब रहेन । रास्वपामा यस्तो हुँदैनथ्यो । प्राइमरी इलेक्सन हुन्थ्यो । उमेदवारलाई राखिन्थ्यो । उपयुक्त, जान्नेलाई छान्ने भन्ने हुन्थ्याे उनले भने, अहिले त मिडियामा देखिएका पात्र मात्रै देखिए । नातावाद, कृपावाद हुँदैन भनिन्थ्यो, पार्टीवाद हाबी भयो । हामीलाई २५ हजार तिरेर उमेदवारी दिन लगाइएको थियो । प्राइमरी हुन्छ भनेर दियौँ । तर, हामीलाई सूचना जानकारी नदिई टिका लगाइदिनुभयो । समग्र पार्टीभन्दा रास्वपा पनि फरक रहेन ।













