
काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमित पार्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
झापाको बिर्तामोडमा मंगलबार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै टिप्पणी गरेका थिए । त्यही टिप्पणीको सन्दर्भमा घिमिरेले प्रेस विज्ञप्ति जारी गरी घिमिरेले लोकतान्त्रिक अभ्यासमा चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत आरोप र घृणाले प्रभावित पार्न नसक्ने बताए ।
उनले संसदीय अभ्यासमा प्रत्येक सदस्यलाई बोल्ने अधिकार भए पनि छलफललाई व्यवस्थित र क्रमिक रूपमा अगाडि बढाउन समय निर्धारण गरिने उल्लेख गरेका छन् । ‘माइक काट्नु वा काटिनु सभामुखको व्यक्तिगत विचारमा आधारित नभई पूर्वनिर्धारित समय र संसद्को नियमावली अनुसार हुने प्रक्रिया हो,’ घिमिरेले विज्ञप्तिमा लेखेका छन् ।
निवर्तमान सभामुख घिमिरेले संसद्को कार्यप्रणालीबारे सामान्य जानकारी राख्ने व्यक्तिले यो बुझ्न सक्ने दाबी विज्ञप्तिमा गरेका छन् ।
आफू संसद्को अभ्यास गरेर आएको र संसद्को वेबसाइटमा पनि उपसभामुख वा सभाको अध्यक्षता गरिरहेका अन्य माननीय सदस्यको पालामा पनि माइक काटिएको पाइएको उदाहरण उनले विज्ञप्तिमा दिएका छन् ।
घिमिरेले लामिछानेलाई उल्टै सांसद पदमा बहाल रहन सक्ने कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ भनी प्रश्नसमेत गरेका छन् ।
झापा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका घिमिरेले यसअघि नै आफू प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेको स्मरणसमेत गराएका छन् ।













