
काठमाडौं । काठमाडौंको मनमैजुमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।
आइतबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१० मनमैजु मन्दिर नजिकै चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार चितुवा मनमैजुस्थित एक घरभित्र छ। उद्धारका लागि काठमाडौं डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
मनमैजुको नासलचोक बस्ने ६५ वर्षीय दुलाल महर्जन घाइते भएका छन्। उनलाई शुभम् अस्पताल मनमैजुमा पठाइएको छ। उनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ।
त्यस्तै ५५ वर्षीय मायानाथ वाग्ले पनि घाइते छिन्। उनको उपचारका लागि नेपाली सेनाको छाउनी अस्पतालमा पठाइएको छ। उनको दाहिने कान र हातमा चोट छ।













