
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका हुन्।
उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे। अझै पनि केही उम्मेदवारहरूले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिए।
उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने उल्लेख गरे।
अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाइ छ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गरे।
एचझष्भचीबहmष् दबलप
राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ।
नयाँ पुराना सबै शक्तिहरूले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ।
नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उनले बताए।
निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे।
साथै, वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उनले दिए।
उनले भने, ‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन्। अब निर्वाचनको वातावरण बिथोलिने वातारण बन्दैन। जसरी पनि निर्वाचन सम्पन्न हुन्छ। कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस्। अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहिँ बिथोल्न सक्दैनौं।’
उनले निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित सबैसँग आग्रह गरे।
केही सञ्चार माध्यमहरूले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उनले मत सर्वेक्षण नगर्न पनि आग्रह गरे।
आफूले पटकपटक मत सर्वेक्षण नगर्न आग्रह गरे पनि केही सञ्चार माध्यमहरूले नटेरेको उनको गुनासो छ।
उनले आचारसंहिता विपरीतको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिए ।













