
काठमाडौं । बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली राजनीतिमा नयाँ समीकरणसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० का नेता रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।
सिंहको निवासमै आयोजित कार्यक्रममा सभापति थापासहित कांग्रेसका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगायतका नेताहरूको समेत सहभागिता रहेको बताइएको छ।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपा विभाजनपछि लोसपाबाट मेयर पदका प्रत्याशी बनेका सिंहलाई नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार रामाशंकर कुशवाहाले पराजित गरेका थिए।
कांग्रेस प्रवेश कार्यक्रममा सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील मिश्रा तथा अन्य नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा समाहित भएको जनाइएको छ।
यसअघि पनि सर्लाही क्षेत्र नम्बर ४ का लोसपाका संविधानसभा सदस्य केदारनन्दन चौधरी, नेता मनिष मिश्र लगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिसकेका छन्। पछिल्लो समय सर्लाहीमा कांग्रेसले अन्य दलका प्रभावशाली नेताहरूलाई पार्टीमा भित्र्याउँदै आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको देखिन्छ।













