
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरुआती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताए ।
यो सरकार बनेको ५–६ हप्तासम्म निर्वाचन हुने हो कि होइन भन्ने आशंका आम मानिससँगै राजनीतिक वृत्तमा रहे पनि अहिले हटेर गएको मन्त्री खनालको भनाइ छ ।
मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको उनले बताए ।
यस्तो छ मन्त्री खनालको भनाइ
जुन आशंका आम मानिससँगै राजनीति वृत्तमा सरकार बनेको ५–६ हप्तासम्म थियो । निवार्चन हुँदैन भन्ने थियो । जेलबाट भागेका कैदीहरू निस्केका छन् । हतियारहरू बाहिर छन् ।
पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरूलाई देख्नै चाहँदैनन् । उनीहरूसँग वार्ता नै गर्न चाहँदैनन् । परस्पर संवादको वातावरण नै छैन । यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठूलो संशय मुलुक सामु थियो ।
त्यसलाई अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठूलो चुनौती थियो । त्यो चुनौतीलाई बहन गर्नुपर्छ र त्यसलाई भड्किन नदिन कतिपय पर्यटन क्षेत्रसहित अरु धेरै कामहरू गर्न सकिएन ।













