Skip

Hamro Sanchar

रास्वपाले झन्डा जलाइदिएको घटनामा एमालेले गर्‍यो निन्दा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ८ गते


काठमाडौं । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुगेको बेला उनका समर्थकहरूले झन्डा जलाइदिएको घटनामा नेकपा (एमाले)ले निन्दा गरेको छ।

बिहीबार बेलुकी तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपा सभापति लामिछानेका समर्थकहरू भेला भएकामध्ये केहीले एमाले अध्यक्ष केपी शर्मा ओली विरूद्ध चर्को नाराबाजी गर्दै चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइदिएका थिए।

एमाले महासचिव शंकर पोखरेलले झन्डा जलाएर उनीहरूले अराजक व्यवहार देखाएको बताएका छन्।

‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्,’ महासचिव पोखरेलले भनेका छन्।

महासचिव पोखरेल दाङ-२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पनि हुन्।

सेतोपाटीसँग कुरा गर्दै महासचिव पोखरेलले एमालेको झन्डा जलाइएको विषयमा निर्वाचन आयोग र स्थानीय प्रशासनमा उजुरी दिने बताए।

एमाले दाङले पनि घटनाको निन्दा गरेको छ । अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ती जारी गरी एमालेको आस्था र भावनामाथि प्रहार भएको बताएका छन्। उनले एमालेको झण्डा जलाउनेलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र भ्रातृ संगठन युवा संघले पनि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई भेटेर तुलसीपुरमा एमालेको चुनाब चिन्ह जलाउने माथि कारबाहीको माग गरेको छ।

उनीहरुले २४ घन्टा भित्र दोषीलाई कानुन अनुसार कारबाही गर्न ज्ञापन पत्र मार्फत माग गरेका छन्।

रास्वपाका जिल्ला सभापति बिनय घिमिरेले भने घुसपैठहरुले एमालेको झण्डा जलाएर भ्रमपूर्ण वातावरण सिर्जना गरेको दाबी गरेका छन्।

सभापति रवि लामिछाने सुर्खेत हुँदै दाङको तुलसीपुर आइपुग्दा उहाँको स्वागतमा सडकमा उत्साहजनक उपस्थिति देखेपछि आँत्तिएका केही घुसपैठ र अवाञ्छित तत्वहरुले भ्रमपूर्ण वातावरण सिर्जना खोजेको रास्वपाको ठहर छ, उनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्