Skip

Hamro Sanchar

गगन थापाको दाबी : कमलपोखरीमा छठ पूजा मैले सुरु गरेको हुँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ८ गते


सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको कमलपोखरीमा छठ पूजा प्रारम्भ गर्ने व्यक्ति आफू नै भएको दाबी गरेका छन्।

सर्लाही–४ को मधुबनीमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं र मधेशबीच सांस्कृतिक तथा भावनात्मक सम्बन्ध मजबुत बनाउन आफूले लामो समयदेखि पहल गर्दै आएको बताए।

उनले केही दिनअघि जनकपुरमा आयोजित सभालाई स्मरण गर्दै जानकी माताको आँगनमा उभिएर स्थानीय संस्कृति र परम्परामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे। ‘म यहाँको हुँदै गर्दा यहाँको संस्कृतिमा आफूलाई डुबाउनुपर्छ’ उनले भने।

उनले डा‍।रामवरण यादव पहिलोपटक राष्ट्रपति बनेपछि करिब एक दशकअघि कमल पोखरीमा छठ पूजा सुरु गरिएको स्मरण गरे। त्यसअघि काठमाडौंमा एक–दुई स्थानमा मात्र छठ मनाइने गरेको र रानी पोखरीमा छठ बन्द भएको अवस्थामा आफूले कमलपोखरीमा पूजा पुनः सुरु गराएको उनले बताए। उनले भने, ‘त्यसयता कमलपोखरीमा नियमित रूपमा छठ पूजा हुँदै आएको छ।’

उनले काठमाडौंलाई मधेशसँग र मधेशलाई काठमाडौंसँग जोड्ने प्रयास निरन्तर जारी राखेको उल्लेख गर्दै अब आफूले प्रतिनिधित्व गर्ने क्षेत्रका समस्याको समाधान प्रत्यक्ष रूपमा गर्ने बताए। उनले थपे,‘पहिले समस्या उठाइदिनु मात्र पर्याप्त थियो, अब समाधान गरेरै छाड्छु।


प्रतिकृया दिनुहोस्