
काठमाडौं । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो गृहजिल्ला अछाममा उम्मेदवार बन्न वञ्चित भीम रावल यसपटक नेपाली कम्युनिस्ट पार्टि (नेकपा)बाट चुनावी मैदानमा छन् ।
अघिल्लो पटक नेकपा एमालेले रावललाई टिकट दिएको थिए।
त्यसको केही समयपछि एमालेले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको थियो । जेनजी आन्दोलनपछि भने उनी नेकपामा प्रवेश गरे ।
अहिले नेकपाबाट अछाम-१ मा प्रतिनिधिसभा उम्मेदवार छन् । यसर्थ, यसपटक उम्मेदवार रहँदा अछाममा उनीसँग ‘सूर्य’ चुनाव चिन्ह छैन ।
अछाममा भोट मागिरहँदा उनका पुराना मतदाता सूर्य चिन्ह र एमालेबारे रावलसँग प्रश्न गरिरहेका छन् । यस्तै दृश्य बिहीबार उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । जसमा एक वृद्ध उनलाई चुनाव चिन्ह ‘सूर्य’बारे प्रश्न गर्छन् ।
जसको उत्तरमा रावल भन्छन्, ‘सूर्यमा त ग्रहण लाग्यो के गर्नु । बनाउने त हामी हौँ, मैले नेतृत्व गरेको ।’ त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रोष प्रकट गर्छन् ।
‘अहिले केपी ओलीले काम नलाग्ने खरानी बनाए । अर्को २५ पार्टी मिलेर आएका छौँ,’ रावल अगाडि भन्छन् । त्यसपछि उनी आफूलाई ‘तारामै भोट हाल्न’ आग्रह गर्छन् ।













