
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले)ले ११ प्रतिबद्धतासहित चुनावी घोषणापत्र ल्याएको छ।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका छन्। जसमा ११ प्रतिबद्धता जनाइएका छन्। यी प्रतिबद्धता कार्यान्वयन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै समयसीमा तोकेर निर्णय गर्ने अध्यक्ष ओलीले बताए।
एमालेको पहिलो प्रतिबद्धतामा १८ देखि २९ वर्षसम्मका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी डेटा निःशुल्क प्रदान गर्ने उल्लेख छ।
दोस्रा, युवा र उद्यमीलाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। यसले सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रबद्र्धन गर्न सहयोग पुग्ने एमालेको विश्वास छ।
तेस्रो, विदेशबाट पैरा पठाउने श्रमिकको खातामा थप ५ हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता गरिएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रबन्धन गरिने उल्लेख छ।
चौथो, विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिने एमालेको घोषणापत्रमा उल्लेख छ। सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहित इन्टर्नशिपको प्रबन्ध गर्ने पनि जनाइएको छ।
पाँचौँ, देशभरका सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने एमालेले घोषणा गरेका छ।
छैटौँ, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने एमालेको प्रतिबद्धता रहेको छ। सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा जोड्ने जनाइएको छ।
सातौँ, शिक्षकको मर्यादाक्रम तोक्ने घोषणापत्रमा उल्लेख छ। यससँगै सामुदायिक र निजी विद्यालयका सबै शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा जोड्ने एमालेले घोषणा गरेको छ।
आठौँ, स्वास्थ्य स्वंयसेविकालाई मासिक २० हजार भत्ता उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। स्वयंसेविकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने घोषणा गरिएको छ।
नवौँ, उद्यमी महिलालाई २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण उपलब्ध गराउने एमालेको घोषणा छ। यससँग्ै सुत्केरी महिलालाई २० हजार भत्ता र ५ लाख रुपैयाँसम्म निःशुल्क जीवन बिमा गर्ने उल्लेख छ।
दशौँ, गरिब परिवार पहिचान गरी २०८२ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने एमालेको प्रतिबद्धता रहेको छ।
एघारौँ, बहालवाला तथा अवकाप्राप्त सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चित गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ। पेशागत मर्यादा, सेवा सुधिवा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितता गर्ने जनाइएको छ ।













