Skip

Hamro Sanchar

गगन थापाको प्रतीज्ञा : अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजा जनकले जस्तै पार्टीले गरेको प्रतिज्ञाबाट एक इन्च पछि नसर्ने बताएका छन् ।

बुधबार (फागुन ६) जनकपुरधाममा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले आफू कुनै बाचा, घोषणाभन्दा पनि प्रतिज्ञाको अक्षरस पालना गर्ने बताए।

उनले भने, “राजा जनकले जस्तै नेपाली कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि सर्ने छैन ।”

प्रतिज्ञासभामा उनले आफ्नो १० बुँदे परिकल्पना सार्वजनिक गरेका छन् । परिकल्पनापत्रमा नेपालमा हरेक नेपालीलाई सम्मानपूर्वक बाँच्न पाउने बनाउने उल्लेख छ ।

प्रत्येक नेपालीले सपना देख्न सक्ने र जीवनकालमा साकार बनाउन सक्ने पनि उल्लेख गरिएको छ । पेटभरी खुवाउने र आफ्नो उत्पादनलाई संसारभर चिनाउन सक्ने बनाउने पनि परिकल्पनापत्रमा उल्लेख छ ।

छोराछोरी पढाउँदा ऋण काढ्न नपर्ने, ओखती गर्दैगर्दा डराउन नपर्ने बनाउने, मौलिकतामा गौरव गर्ने तर आधुनिकतामा लम्कने बनाउने, विश्वले स्वाभिमानी देश भनेर चिनाउने, नेपाललाई समुन्नतिमा लम्कने बनाउने उल्लेख छ ।

प्रश्न गर्दैगर्दा भदौ २३ गतेजस्तो मारिनुपर्दैन भन्ने बनाउने सभापति थापाको भनाइ छ । “अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन भन्ने यो हाम्रो प्रतिज्ञा हो । हामी यस्तो नेपाल बनाउन चाहन्छौँ,” उनले भने,“अब हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्दैन यो हाम्रो प्रतिज्ञा हो ।”


प्रतिकृया दिनुहोस्