Skip

Hamro Sanchar

अहिलेकै अवस्थामा चुनावमा जान हुन्न : पुर्व राजा शाह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् ।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा समेत राखेका छन् ।

मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई लिनुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्नेमा जोड दिए ।

उनले भनेका छन्, ‘कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’

देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने उनको जिकिर छ ।

प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन् । यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने रहेको उनले औंल्याए ।

‘मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो,’ पूर्वराजाको सन्देशमा उल्लेख छ ।

अहिलेको राजनीतिक नेतृत्वप्रति कडा प्रहार गर्दै पूर्वराजाले ‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने सोचले देश नबन्ने बताए । उनले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाएको र कसैलाई खुसी पार्न वा कसैबाट तोकिन बाध्य ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ मा देश बाँधिएको टिप्पणी गरे । अरूको भरमा परेर अक्करमा नपर्न समेत उनले राजनीतिक नेतृत्वलाई सचेत गराएका छन् ।

विगतमा भएका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको शाहले बताए । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको भन्दै उनले एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा जनताबाट प्राप्त स्नेह र समर्थनले आफूलाई राष्ट्रप्रति थप जिम्मेवार बनाएको बताउँदै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औंल्याएका छन् ।

प्रजातन्त्र दिवसको सन्दर्भमा उनले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने जिजुबुवा राजा त्रिभुवन र ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्थाको वकालत गरेका छन् । प्रजातन्त्र दिवस बिहीबार मनाइँदै छ ।


प्रतिकृया दिनुहोस्