Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धनगढी पुगेर बालेनले भने : भोट माग्न होइन, काम माग्न आएका हौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोट माग्न नभएर काम माग्न सुदूरपश्चिम आएको बताएका छन्।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले काम दिन आग्रह गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो। काम दिनुस्,’ शाहले भने, ‘भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनू। रास्वपाले काम गरेर देखाउँछ।’

उनले छोटो सम्बोधनमा सुदूरपश्चिमलाई काठमाडौँसँग जोड्नुपर्ने बताए। त्यसका लागि रास्वपाले काम गर्ने उनको भनाइ थियो।

उनले गरिबले सहज रुपमा स्वास्थ्य उपचार गर्न पाउने नै रास्वपाको एजेन्डा रहेको बताए। तोकिएकै समयमा बाटो बन्नुपर्ने आफ्नो एजेन्डा भएको उनले सुनाए।

‘खल्तीमा पैसा नभएको गरिबले स्वास्थ्य उपचार गर्न पाउनुपर्‍यो,’ शाहले भने, ‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षमा बन्दैन। डेढ वर्षमै बाटो बन्नुपर्‍यो, यहि राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा हो।’

अन्य दलले जस्तो रास्वपाले बाटो बनाउँदा पार्टी नहेर्ने उनको भनाइ थियो। ‘रास्वपा सरकारमा गयो भने कांग्रेसले हिड्ने पनि बाटो बनाउँछ, एमाले हिड्ने पनि बाटो बनाउँछ, माओवादी हिड्ने पनि बाटो बनाउँछ। सबै हिड्ने बाटो बनाउँछ, सबै नेपाली हिड्ने बाटो बनाउँछ,’ शाहले भने।

नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउने भने पनि त्योभन्दा राम्रो सुदूरपश्चिम रहेको उनको भनाइ थियो। उनले अब सुदूरपश्चिमलाई देशसँग जोड्नुपर्ने बताए। ‘सुदूरपश्चिमलाई जोड्नुपर्छ। सुदूरपश्चिमको गीत काठमाडौँको चोकचोकमा बजेको दिन सुदूरपश्चिम जोडिन्छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस्