
काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) जनकपुरमा चुनावी सभा गर्दै छ।
कांग्रेसको मधेस प्रदेश कार्यसमितिको आयोजनामा हुने सभाबाटै कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम पनि छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार जनकपुरमा आज हुने सभामार्फत पार्टीले प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो।
जनकपुरमा हुने सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत कांग्रेसका केन्द्रीय तहका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले सभामा आठै जिल्लाबाट व्यापक सहभागिता हुने बताए।
‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ यादवले पत्रकार सम्मेलनमा भने, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ।’
यस्तो हुनेछ कांग्रेसको ‘प्रतिज्ञापत्र’
कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट प्रवक्ता चालिसेले विज्ञप्ति प्रकाशन गरी सभापति गगन थापाको अगुवाइमै निकै अध्ययन, अनुसन्धान र विमर्श भइ तयार भएको यस पटकको प्रतिज्ञापत्रले मुलुकको समृद्धिका प्राथमिकता, जनताका सुखदुःख र विचारशील लोकतन्त्रका आयामहरुको मर्म समेटी एउटा सुन्दर भविष्यको खाका दिने दाबी गरेका छन्।
‘यो दस्तावेजका आधारमा हाम्रो अबको पाँच वर्षको कार्यव्यवहार मूल्याकंन गर्ने हरेक अधिकार नेपाली जनताले राख्छन्’ चालिसेले भनेका छन्, ‘पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यप्रवाहबाट लोकतन्त्रलाई गतिशील र जीवन्त बनाउनसक्ने खुवी नेपाली काँग्रेससँग छ र यो तथ्य अबका दिनहरूमा प्रमाणित हुँदै जानेछ।’
यस्तै कांग्रेसले लोकप्रियतावादलाई अस्वीकार गरेको छ।
‘कांंग्रेस आमजनता, मतदातामाझ सभ्य, सुसँस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राख्छ। चरम प्रियतावादबाट वशिभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कृत्य हामीबाट किञ्चित् कल्पित र सम्भव छैन’, विज्ञप्तिमा भनिएको छ, ‘आमसञ्चार, विद्युतीय र डिजिटल सञ्चारका कुनै पनि प्लेटफर्ममा हाम्रो उपस्थिति तर्क, विवेक र सम्मानबाट निर्दिष्ट रहन्छ। यहाँहरूले यस पक्षलाई पहिचान गर्नु भएकै होला भन्ने हाम्रो अपेक्षा छ।’
प्रवक्ता चालिसेले निर्वाचन आयोगले जारी गरेको आचारसहिंताप्रति उच्च सम्मान गर्ने पनि जनाएका छन्। तर यसको कार्यान्वयनमा कतिपय दल र तिनका समर्थकहरुबाट भइरहेका खुला उल्लघंनका घटनालाई हामीले सप्रमाण ध्यानाकर्षण गराइएको बताएका छन्।
विशेष महाधिवेशनको पृष्ठभूमिलगायत कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था नरहेको पनि उनले उल्लेख गरेका छन्।
‘कांग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ। सबैले निर्वाचनको महत्त्व र सान्दर्भिकतालाई ह्रदयंगम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले यतिबेला संसारभर नै लोकतान्त्रिक परम्परा र मूल्यमाथि प्रहार भइरहेको दाबी गर्दै भनेको छ, ‘लोकतन्त्रमाथिको संक्रमण कहिं देखिने अनि कहिं त्यो निवारण हुने श्रृंखला निरन्तर चलिनै रहन्छ। हाम्रा छिमेकी राष्ट्रहरुमा सकारात्मक घटना देखिएको खण्डमा त्यसलाई ‘नोटिस’मा राख्ने विषय हामी सचेत राजनीतिकर्मीका लागि महत्वपूर्ण छ। यद्यपि हाम्रो मूल प्राथमिकता आफ्नै देश र आफ्नै कर्म हुन्।











