
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ को समग्र विकास र समृद्धिको खाका समेटिएको विस्तृत प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिवद्धता पत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई मुख्य आधार बनाएका छन्।
एमालेले यस क्षेत्रमा भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा र सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको छ।
पार्टीले आफ्नो दस्ताबेजमा २००६ सालदेखिको इतिहास स्मरण गर्दै नेकपा ९एमाले० लाई कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा प्रस्तुत गरेको छ। विगतमा आफ्नै नेतृत्वको सरकारले अघि सारेका लोकप्रिय कामहरूको जगमा उभिएर बाँकी रहेका अधुरा योजनाहरू पूरा गर्ने अठोट एमालेले लिएको छ।
विशेषगरी, देशमा व्याप्त राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने कुरालाई पार्टीले उठाएको छ। समसामयिक प्रविधिको सन्दर्भमा, कृत्रिम बुद्धिमत्ता ९एआई० र सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी नियमनको आवश्यकतालाई समेत प्रतिवद्धता–पत्रमा समेटिएको छ।
भौतिक पूर्वाधारको क्षेत्रमा एमालेले यस क्षेत्रका मुख्य सडक र पुलहरूको निर्माणलाई विशेष प्राथमिकता दिएको छ। दमक–चिसापानी–रवि सडकखण्डको निर्माण कार्यलाई पूर्णता दिने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडकको स्तरोन्नति गर्ने र हुलाकी मार्ग अन्तर्गत माई नदीको पुलको अधुरो काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस्तै, रतुवा, मावा र कमल खोला लगायतका विभिन्न नदीहरूमा तटबन्धन गरी नदी कटान नियन्त्रण गर्ने र पक्की पुलहरू निर्माण गरी आवागमन सहज बनाउने योजना अघि सारिएको छ।
स्मार्ट सिटी
दमक र गौरादहलाई ‘स्मार्ट सिटी’ को रूपमा विकास गर्दै व्यवस्थित बसोबास मिलाउने प्रतिवद्धता जनाइएको छ।
कृषि प्रधान यस क्षेत्रमा किसानहरूको हितका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने एमालेको योजना छ।
सिँचाइ सुविधा पुऱ्याउन भूमिगत र सतह सिँचाइका आयोजनाहरू सञ्चालन गर्ने, जैविक मल कारखाना स्थापना गर्ने र किसानका उत्पादनहरू सुरक्षित राख्न विभिन्न स्थानमा शीतभण्डार निर्माण गर्ने कुरा प्रतिवद्धता पत्रमा उल्लेख छ।
दमकमा निर्माणाधीन ‘नेपाल–चीन मैत्री औद्योगिक पार्क’ लाई सम्पन्न गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र व्यापारिक केन्द्रका रूपमा दमक बिजनेस टावरलाई सञ्चालनमा ल्याउने संकल्प गरिएको छ।
सामाजिक क्षेत्रतर्फ, प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुऱ्याउने र अधुरा खानेपानी आयोजनाहरू पूरा गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य क्षेत्रमा दमक, कमल र गौरादहका अस्पतालहरूको स्तरोन्नति गर्ने तथा स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने योजना छ।
शिक्षातर्फ सामुदायिक विद्यालय र क्याम्पसहरूको भौतिक सुधार र गुणस्तर वृद्धिमा जोड दिइएको छ। खेलकुदको विकासका लागि दमकमा मदन भण्डारी रङ्गशाला र कमलमा आदिवासी रङ्गशालालाई आधुनिक स्तरमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।
एमालेले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्न जग्गाधनी प्रमाण पुर्जा ९लालपुर्जा० उपलब्ध गराउने कार्यलाई तीब्रता दिने बताएको छ।
साथै, विपन्न र दलित समुदायका लागि सुरक्षित आवास निर्माण गरिदिने कार्यक्रमलाई निरन्तरता दिइने ओलीले सार्वजनिक गरेका छन्।
पर्यटकीय दृष्टिकोणले सिमसार, वाल्मीकि आश्रम, इन्द्रेणी ताल र गौरादहको पोखरी लगायतका क्षेत्रहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र स्थानीय संस्कृतिको संरक्षण गर्ने योजना एमालेले अघि सारेको छ ।












