Skip

Hamro Sanchar

राजेन्द्र लिङ्देन : भ्रष्टाचार गरेको छैन, कुनै पनि शक्तिपीठमा कसम खान सक्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ४ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले भ्रष्टाचार विरोधी अभियानलाई निष्ठाको विषय बनाएको बताएका छन्।

सोमबारदेखि झापा–३ मा घरदैलो अभियान सुरु गरेका लिङ्देनले भ्रष्टाचार गर्न नहुने मान्यतालाई व्यवहारमै लागू गरेको बताए। हल्दीबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू यहीँको धुलो–माटोमा हुर्किएको, अभाव झेलेको र गाउँको विकासका लागि निरन्तर खटिएको स्मरण गराए।

‘क्लबको अध्यक्षदेखि देशको उपप्रधानमन्त्रीसम्म बन्दा पनि आफूमाथि कुनै भ्रष्टाचारको दाग लागेको छैन र कुनै पनि शक्ति पीठमा गएर कसम खान सक्ने सामर्थ्य मसँग रहेको छ,’ लिङ्देनले भने।

उनले दलीय घेराभन्दा माथि उठेर भोट हाल्न आग्रह गरे। ‘मलाई कांग्रेस, एमाले, माओवादी र घण्टी समर्थक सबैको भोट चल्छ। म यो क्षेत्रको साझा उम्मेदवार हुँ,’ उनले भने।

उनले मतदातालाई भावुक अपिल गर्दै यदि योग्य उम्मेदवारलाई मतदान नगरेमा भविष्यमा पछुतो मात्रै होइन, राति ऐठन समेत हुन सक्ने भन्दै सचेत गराए।

अध्यक्ष लिङ्देनले गत आठ वर्षमा यस क्षेत्रको पूर्वाधार विकासमा भएको प्रगति सबैको सामु छर्लङ्ग रहेको उल्लेख गर्दै बाँकी रहेका काम पूरा गर्ने जिम्मा आफ्नो भएको बताए। देश अहिले अस्तित्वको सङ्कटमा रहेको जिकिर गर्दै उनले राष्ट्रियता र धर्म रक्षाका लागि राप्रपा दृढताका साथ उभिएको बताए।

फेसबुक र टिकटकका रिल हेरेर मात्र धारणा नबनाई, उम्मेदवारको निष्ठा र कामलाई हेरेर मतदान गर्न उनले मतदातालाई अपिल गरे। आगामी ५-६ वर्षभित्रै देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गर्दै उनले अन्तिम पटक आशीर्वाद दिन आग्रह गरे।


प्रतिकृया दिनुहोस्