
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् ।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने सपना रहेको बताएका हुन् । त्यसपछि मैकोटलगायतका क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनको अनुमान छ ।
सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरुको सम्झनामा ‘शहीद मार्ग’ बनाउन सुरु गरिएको उनले बताए ।
प्रचण्डले भने, ‘मैले नै प्रस्ताव गरेको मार्ग हो यो शहीद मार्ग । जनयुद्धकै बेलामा अब शहीदहरूको नाममा एउटा बाटो दक्षिणदेखि उत्तरसम्म जाने मार्ग सुरु गर्नुपर्छ भनेर प्रस्ताव गयौँ । पार्टीबाट निर्णय भयो, जनतालाई आह्वान गरियो र जनताले स्वेच्छिक रूपमा खन्न सुरु गर्नुभयो ।’
उनले थपे, ‘शान्ति सम्झौता भइसकेपछि र हामी सरकारमा गइसकेपछि शहीद मार्गलाई राज्यकै मार्ग बनाइयो । यो पहिले हाम्रो एक्लैको जस्तो मात्रै थियो, तर अब राज्यको भएको छ । त्यसैअनुसार काम भइरहेको छ । अब यसलाई पिच गरेर मैकोटलगायत ठाउँमा सरर आउने बनाउने र यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने मेरो सपना छ ।’
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेको र त्यसका लागि बजेटसमेत छुट्याइएको पनि बताए ।
प्रचण्डको टोली गाउँपालिकाको केन्द्र तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे (नयाँ बजार), डिम्मुर गहिरा (तातोपानी), मयाङ, हुकाम हुँदै मैकोट (रुकुम मैकोट) पुगेको छ ।
यो टोली सोमबार कोल, गोलखाडा, राङ्सी, नाखाँ, जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ ।













