
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरूको मात्र नभई मतदाताको समेत दोष रहेको बताएका छन् ।
श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देन यस्तो बताएका हुन् ।
“हामीले लामो समयदेखि भन्दै आएका छौँ कि यो देशलाई धर्मनिरपेक्ष बनाउनेमा, यो संविधानमै धर्मनिरपेक्ष शब्द घुसाउनेमा नेताको मात्र दोष छैन । त्यो नेतालाई भोट दिने हाम्रो हातको पनि दोष छ । धर्मनिरपेक्ष राष्ट्र बनाउँछु भनेर घोषणापत्रमा लेखेर हिँड्नेहरूलाई हामीले भोट नदिएको भए देश धर्मनिरपेक्ष हँदैन्थ्यो,” उनले भने ।
मतदान कन्यादानभन्दा पनि ठूलो भएको उल्लेख गर्दै सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गरे । गलत व्यक्ति र गलत पार्टीलाई मत दिँदा सिंगो समाज र देशले दुःख पाउने उनको भनाइ छ ।
उनले फागुन २१ मा हुने निर्वाचनमा भोट दिनुअघि हजारौँपटक सोच्न मतदातालाई आग्रहसमेत गरे ।
“देश चुनावमा होमिसक्यो । म यत्ति मात्र भन्छु, तपाईंहरू भोट दिनुअघि हजार चोटी सोचेर मात्र दिनुस्,” उनले भने ।

















