
जनकपुरधाम । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरमा किचिएर दुई बालिकाको मृत्यु भएको छ ।
बिहीबार मटिहानी नगरपालिका–४ मझौरामा यस्तो घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र भट्टका अनुसार स्थानीय इमरान राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिरहाको सिरहा नगरपालिका-११ मरडा बस्ने सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुनको मृत्यु भएको हो ।
दुवै बालिकालाई ट्याक्टरमा बसाएर खेत जोतिरहेको अवस्थामा उनीहरू ट्याक्टरबाट लडेका थिए । ट्याक्टर चालक भने फरार छन् । ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

















