Skip

Hamro Sanchar

प्रचण्डको दाबी : अबको १५ दिनमा नेकपाले सबैलाई टप्यो भन्ने आउँछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २८ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को चुनावबाट आफ्नो पार्टी नै पहिलो दल बन्ने दाबी गरेका छन्।

बुधबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले चार वटा दलबीच कडा प्रतिस्पर्धा भइरहेको सबैले स्वीकारेको सुनाए। नेपाली कांग्रेस, नेकपा (एमाले)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम लिँदै प्रचण्डले भने, ‘अबको १५ दिनमा नेकपाले टप्यो भन्ने दिन आउँदैछ।’

पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको र त्यसलाई केहीले महत्वाकांक्षी भने पनि त्यो समाजवादतर्फको यात्रा तय गर्नका निम्ति भएको पनि बताए।

‘हामी हिजोका ठाउँमा छैनौँ, नयाँ ठाउँमा आइसक्यौँ,’ उनले भने, ‘समाजको तल्लो वर्गका आवाज उठाउँदै समाजवादी यात्रा तय गर्ने दिशामा अगाडि बढीसक्यौँ।’

उनले संविधान बनाउने क्रममा नै तत्कालीन माओवादीले फरक मत दर्ज गराएको प्रसंग निकाल्दै संविधान संशोधनको मुद्दा आफ्नै भएको र त्यसलाई अगाडि सार्ने नैतिक बल पनि आफैंसँग भएको जिकिर गरे। ‘संविधान बनाउँदैमा रिजर्भेसन राखेकाले संशोधनको आवाज उठाउने नैतिक आधार हामीसँग छ,’ प्रचण्डले भने।

देशभर नेकपाको माहौल बनेको जिकिर गर्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न चाहिँ सिकाउन कार्यकर्तालाई निर्देशन दिए। ‘मेरै निर्वाचन क्षेत्र (रुकुम पूर्व)मा भोट त गोलाकारभित्रको हसियाँ हतौडामा हाल्ने भनेको कुरा केही पत्रकारले सुनाए,’ प्रचण्डले भने, ‘हामीले त अहिले सूर्यभन्दा कति हो कति माथि हुन्छ तारा, त्यो लिइसक्यौँ। २६ वटा चुनाव चिह्नमा भोट हालेकालाई तारामा भोट हाल्न सिकाउनु छ।’

उनले जीतका निम्ति योपटक पार्टीले ठूला सभा सम्मेलन गर्नका निम्ति पैसा खर्च नगर्ने बरु टोलटोलमा गएर आफ्ना कुरा भन्ने तथा सूचना प्रविधिको प्रयोगलाई बढी जोड दिने प्रचार रणनीति तय गरिएको पनि बताए।

‘आजकल ठूला सम्मेलन सभा गरेर, लाखौँ खर्च गरेर भोट पाउने जमाना गयो। टोल–टोल र घरघरमा गएर आफ्नो कुरा बताउनुहोला,’ उनले भने, ‘आईटीमा हामी बुर्जुवा र साम्राज्यवादीसँग प्रतिस्पर्धा गर्न त सक्दैनौँ तर मिसइन्फर्मेसनलाई काउन्टर गर्ने र आफ्ना राम्रा कुरा पोष्ट र शेयर गर्न नछाड्नुहोला। खाली बसेर भएन, पोस्ट गरिराख्नुपर्‍यो।’

उनले पार्टीले डिजिटल प्रचारका निम्ति पेरिसडाँडामा टिम नै तयार गरेको र हिजो सभा सम्मेलनमा गरिने खर्च अहिले सूचना प्रविधिमा लगाएको पनि बताए। नेकपा नयाँ दृष्टिकोण र सोचले मात्र नभएर निर्वाचन आयोगको रेकर्डमा पनि नयाँ नै भएको जिकिर पनि गरे।

‘नयाँ र पुरानो भन्ने विचार र एजेन्डाले हुने हो, संघीय गणतन्त्रको प्रवर्तक भएकाले, नयाँ भिजन र सोच भएकाले नेकपा नै अहिले सबैभन्दा नयाँ पार्टी हो,’ उनले भने, ‘गएको कात्तिक १९ गते बनेको यो नै नयाँ कम्युनिस्ट पार्टी हो। त्यसभन्दा पछि निर्वाचन आयोगमा कुनै नयाँ पार्टी दर्ता भएका छैनन्।


प्रतिकृया दिनुहोस्