Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डको दाबी : हाम्रोभन्दा नयाँ पार्टी नेपालमा अरू कुनै छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २७ गते


Advertisement

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् ।

‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन’, मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नाम र भाषा र व्याकरणको दृष्टिकोणले र सबै खालका पुच्छर हटाउने दृष्टिकोणले पनि ।’

पार्टी गठन पनि गत कात्तिक १९ गते भएकाले सबै हिसाबले नेकपा नयाँ पार्टी भएको प्रचण्डको भनाइ थियो । ‘विचारको हिसाबले पनि योभन्दा नयाँ पार्टी कुनै पनि छैन । सबै वर्ग क्षेत्रको अधिकारको पहिचान गर्ने पार्टी’, उनले भने ।

प्रचण्डले कतिपयले अहिले नयाँ र पुरानाबारे गलत भाष्य बनाइएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘एउटा भाष्य बनाउन खोजिएको छ सोसल मिडियाबाट नयाँ भन्नेहरूले तर उनीहरूको राजनीतिक विचार सिद्धान्त नभएर पुरानाको विरोध गर्नु मात्र नयाँ हो’, उनले भने, ‘राजनीतिक इतिहासमा, सामाजिक क्रान्तिको विज्ञानमा इतिहासदेखि प्रमाणित निर्णायक कुरा विचार र राजनीतिक मुद्दा नै हो त्यो राष्ट्रहितमा छ कि छैन भन्ने मुख्य कुरा हो ।’

उनले चुनौतीका साथ विचार, नाम, संगठन र राजनीतिक मुद्दाका हिसाबले नेकपा नै नयाँ हो भनेर जनतालाई बुझाउन निर्देशन दिए । ‘जसले आफूलाई नयाँ भन्ने गरेका छन् उनीहरू विचारका दृष्टिले सबभन्दा पुराना हुन् । उदार पुँजीवाद र दलाल पुँजीवादका पक्षधर कसरी नयाँ ?’, प्रचण्डको प्रश्न छ।

साथै उनले विभिन्न सर्भेहरूलाई हेर्दा यो निर्वाचनमा नेकपा नै पहिलो पार्टी बन्ने अवस्था रहेकाले सोही अनुसार पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनेतर्फ लाग्न सुझाव दिए । ‘हामी देशभरि घुम्दा जनताको तहमा जे स्थिति बनेको छ । विपक्षीको कुरा सुन्दा र विभिन्न सर्भेका रिपोर्ट बुझ्दा हामी पहिलो पार्टी बन्ने देखिन्छ’, प्रचण्डको भनाइ छ ।


प्रतिकृया दिनुहोस्