Skip

Hamro Sanchar

केपी ओलीको कटाक्ष : प्रधानमन्त्रीले गोली चलाउन आदेश दियो भन्नेहरू अपराधी हुन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २२ गते


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि अनेक आरोप लगाउने गरेको बताएका छन्।

बिहीबार काठमाडौँ-झापा सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको घटना केही तत्वले उपद्रव मच्चाएको जिकिर गरे। पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताए।

‘उपद्रव मच्चाएर, ठूलो उपद्रवका लागि राष्ट्रिय उपद्रवको वातावरण बनाउन सक्छन्, पहिला नै तयार हुनु भनेको थिएँ, त्यो हुन सकेन। पछि कोही लुट्न गएका, लुट्न गएकाहरूलाई भित्रै राखेर बाहिरबाट आगो लगाएर भित्रभित्रै मारिएको छ। कसैको सनाखत नै हुन सकेको छैन,’ ओलीले भने।

जेनजीका नाममा विध्वंश मच्चाउनेहरूले नै आफूलाई झुटा आरोप लगाइरहेको उनको भनाइ थियो। ‘मराउने को हुन्, यिनीहरूरु अनि मराउनेहरूले उल्टै हाम्रा विरुद्ध मार्ने र मराउने, आगो लगाउनेर गोली चलाउन बाध्य पार्नेहरूले हाम्रा विरुद्ध, षड्यन्त्रका पोकाहरूले त्यस्ता घृणित लाञ्छना लगाएर, झुटा आरोप लगाएर देश दुनियाँमा बद्नाम गर्ने काम गरेका छन्,’ उनले भने।

उनले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको उनको भनाइ थियो।

‘सबैले बा भने भन्ने रिसले यिनीहरूले केही मान्छे मार्ने परिस्थिति बनाएर उ हत्यारा हो भनेर भन्दै छन्। आगो लगाएर मार्ने उनीहरू अनि हत्यारा हुने केपी ओली,’ उनले थपे।

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले आफूले आदेश नदिएको दोहोर्‍याए। यस्तो आरोप लगाउनेहरूलाई ओलीले ‘अपराधी’को संज्ञा दिए।

‘सबैलाई थाहा छ, प्रधानमन्त्रीले आदेश दिने त के गोली चल्नु भन्दा अगाडि थाहा पनि पाउँदैन। अफ्ठ्यारो स्थितिमा पुलिसले सोध थाल्छ, कहाँ छ प्रधानमन्त्री भनेर। प्रधानमन्त्री त्यस्तो सुलभ सम्पर्कमा हुन्छरु आदेश लिएर बसेको हुन्छ, हतियार लियो जब त्यतिबेलै यस्तो यस्तो परिस्थितिमा गोली चलाउने भन्ने आदेश पाएरै बसेको हुन्छ। परिस्थिति हेरेर काम गर्छ,’ ओलीले थपे, ‘अनि प्रधानमन्त्रीले गोली चलायो भन्ने। या यि बेबुझ हुन् या त यि अपराधी हुन्। झुट र बेइमान हुन्। यो कुरा बुझाउन सक्नुपर्छ।’

अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरुले विभिन्न आरोप लगाइरहे पनि यथार्थ कुरा आम नागरिकलाई बुझाउन सक्नुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्