Skip

Hamro Sanchar

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १८ गते


काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४र०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर कम पाइएको छ । कर्मचारीहरूले आपसी मिलेमतोमा स्टक कम देखाई ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रूपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आयोगको भनाइ छ ।

अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२ रूपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै अन्य प्रतिवादीहरू तत्कालीन निमित्त महाप्रबन्धकहरू महेशप्रसाद काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ, नवलकिशोर शाहसँग ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँ बिगो दाबी गरिएको छ ।

तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, तत्कालीन क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीसँग पनि जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बिगो दाबी गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महालेखा परीक्षकको प्रतिवेदनले क्लिङ्करको खपत बढी तर उत्पादन घटी देखाएको प्रतिवेदनमा अख्तियारले अनुसन्धान थालेको प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।


प्रतिकृया दिनुहोस्