
काठमाडौं । स्थानीय सरकार छोडेर चुनावमा लागेका उम्मेदवारलाई कटाक्ष गर्दै धनगढी उपमहानगरका मेयर गोपाल हमालले आफूले जनता रोजेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै हमालले स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहमा निर्वाचित भएका र अहिले छोडेर चुनाव लडिरहेका उम्मेदवारलाई कटाक्ष गरेका हुन्। ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ,’ उनले भनेका छन्।
२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर उनी धनगडीको मेयरमा निर्वाचित भएका थिए। त्यतिवेला धेरै स्वतन्त्र उम्मेदवार स्थानीय तहमा आएका थिए।
त्यसमध्ये काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनेका छन्। त्यस्तै, धरानका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी खोलेर चुनावमा होमिएका छन्।
यस पटक हमाललाई पनि विभिन्न दलले चुनाव लड्न अफर गरेका थिए। तर, उनले स्थानीय तहको पाँच वर्षे कार्यकाल पूरा नगरी कतै नजाने बताएका थिए ।

















