Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन लक्षित ओलीको टिप्पणी : ठुटे सिङ लिएर सिंगौरी खेल्न पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १७ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन् ।

आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताए ।

शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ, १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन ।’

उनले चुनावमा झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न’ पुगेका टिप्पणी गरे ।

बालेनको नाम नलिई उनले थपे, ‘मैले धेरै केही भन्नु पर्दैन । अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा । बतासे अण्डाबाट चल्ला निस्किँदैन ।’

ओलीले भने, ‘यी बतासका खेती गरिरहेका छन् । यिनीहरुसँग संगठन छैन, उद्देश्य छैन, बिचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन, त्यो पनि थाहा छैन ।’

ओली अझै चर्को रुपमा प्रस्तुत हुँदै भने, ‘पुल्ठो झोस्न जान्या छ, आगो बाल्न जान्या छ, देश बिगार्न जान्या छ, भड्काउन जान्या छ, तोडफोड गर्न जान्या छ, लुटपाट गर्न जानेको छ, आगजनी गर्न जान्या छ । यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमामण्डन गरेको छ । र, अरुमाथि विभिन्न प्रकारका आरोपहरु लगाएको छ ।’

उनले यस्ता कुराहरुको प्रवाह नगर्न आग्रह गरे । उनीहरुको जनाधार नभएको टिप्पणी गर्दै ओलीले भने, ‘यी आकाशे खेती हुन् । धर्तीमा उनीहरु जनतासँग पुग्या छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन । एउटा ह्वीम चलाइदिएको छ । एउटा मोबाइल भन्ने भाँडो, त्यही भाँडोबाट होडलो मच्चाएको छ देशमा ।’

ओलीले आफूहरुले पनि मोबाइल प्रयोग गर्ने बताउँदै भने, ‘हामी देशका लागि काम गर्छौं र जनताका बीचमा छौं, जनताका साथमा छौं । देशलाई समृद्ध बनाउँछौं, सुरक्षित बनाउँछौं र जनतालाई सुखी जनता बनाउँछौं । हामी त्यो गन्तव्यबाट बिचलित हुँदैनौं ।


प्रतिकृया दिनुहोस्