Skip

Hamro Sanchar

कागेश्वरी मनोहरामा मालपोत सेवा सुरु, बिचौलिया पूर्ण रूपमा निषेध हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा शुक्रबार औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङ्नामले सेवाको शुभारम्भ गरेका हुन्।

यससँगै कागेश्वरी मनोहरा नेपालका ७५३ स्थानीय तहमध्ये मालपोतसम्बन्धी सेवा संचालन गर्ने पहिलो नगरपालिका बनेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङ्नामले सेवाको शुभारम्भ गर्दै सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैंबाट हुनुपर्ने बताए। उनले भने, “हामी सबै कुशासनविरोधी कुरा गर्छौं। अब सुशासनको सुरुआत हामीबाटै हुनुपर्छ। भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिनु र विचौलिया तथा दलालीको सामूहिक रूपमा विरोध गर्न सक्नुपर्छ।”

मन्त्री इङ्नामले कुशासनको मूल जड भ्रष्टाचार भएको उल्लेख गर्दै भूमि प्रशासनलाई स्वच्छ, पारदर्शी र जनमैत्री बनाउने उद्देश्यका साथ सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए।

नगर प्रमुख उपेन्द्र कार्कीले यस सेवाले अब कागेश्वरी मनोहरा नगरवासीहरूलाई जग्गा नामसारी, दर्ता, अभिलेख व्यवस्थापन लगायतका मालपोतसम्बन्धी सेवाहरू सहज, छिटो र सेवाग्राहीमैत्री ढंगले उपलब्ध गराउने विश्वास व्यक्त गरे।

नगर प्रमुख उपेन्द्र कार्कीले भने, “मालपोत भन्ने बितिक्कै आम जनमानसमा बिचौलियाको चलखेल हुने र सेवाग्राही ठगिने अवस्था देखा पर्छ। त्यसैले हाम्रो नगरपालिकामा जग्गा प्रशासनसम्बन्धी मालपोत सेवा सुचारु भएसँगै सम्पूर्ण किसिमका बिचौलियाको अन्त्य गरिनेछ। हामीले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन छुट्टै जनशक्ति राखेर हेल्प डेस्क सञ्चालन गर्नेछौं।”

कार्यक्रममा सहभागी वक्ताहरूले यस कदमलाई नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्थानीय तहको अधिकार कार्यान्वयनतर्फको महत्वपूर्ण माइलस्टोनको रूपमा व्याख्या गरे। यसले सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहिता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्- नगरपालिकाबाटै मालपोत सेवा सञ्चालन गर्ने पहिलो स्थानीय तह बन्यो कागेश्वरी मनोहरा


प्रतिकृया दिनुहोस्