Skip

Hamro Sanchar

कुलमानको दाबी : रास्वपामा मैले ठूलो पद मागेको थिइनँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले अन्तिम समयसम्म पनि आफूले पार्टीको साधारण सदस्य बन्छु भन्दा पनि १२ दिनसम्म होल्ड गराएर राखेको आरोप लगाए ।

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने, ‘म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’

साथै, उनले पछिल्लो यो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको जिकिर गरे ।

‘एकतर्फी रुपमा सहमति भंग गरेको मलाई जानकारी गर्नुभयो । मिडियामा पनि त्यही हिसाबले आयो । वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो,’ घिसिङले भने, ‘उज्यालो समर्थक साथीहरूले धेरै पीडा भोगेको छ । रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो । उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेशमा आह्वान गर्नुभयो । हामीले केही पनि गरेका थिएनौं ।’ उनले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको बताए ।

‘मैले उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु । म आजै बसेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा चयन भएको छ । उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी रुपमा प्रभावकारी रुपमा अगाडि बढाउनेछु,’ उनले भने ।


प्रतिकृया दिनुहोस्