
काठमाडौं, पुस २२- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) मनोनयन दर्ता आज हुने भएको छ । आगामी पुस २८ गते नेतृत्व चयनका निम्ति हुन गईरहेको निर्वाचनका लागि उपाध्यक्ष पदमा विकल्प राज पोखरेलले उम्मेदवारी दिदै हुनुहुन्छ । तालिम विभाग प्रमुखको रूपमा कार्यरत पोखरेल एक कुशल, गतिशील र दूरदर्शी नेताका रूपमा परिचित हुनुहुन्छ।
पोखरेलले यसअघि ईक्यानको कार्यसमिति सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गर्दै संस्थागत विकासमा उल्लेखनीय योगदान दिनुभएको छ। विशेषगरी कोभिड–१९ को कठिन समयमा ईक्यान सदस्यहरूलाई धितोबिनाको ऋण उपलब्ध गराउने पहलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु उहाँको कार्यकालको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
हालको कार्यकालमा उहाँको नेतृत्वमा देशका विभिन्न भागमा क्षमता अभिवृद्धि गर्ने तालिम कार्यक्रमहरू सञ्चालन गरिएका छन् भने संस्थाका नीतिगत मस्यौदा निर्माण, रणनीतिक योजना तथा अन्य महत्वपूर्ण गतिविधिमा उहाँ सक्रिय रूपमा संलग्न रहनुभएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा ईक्यानको प्रभावकारी प्रतिनिधित्व गर्दै संस्थाको छवि सुदृढ बनाउन उहाँले उल्लेखनीय भूमिका खेल्नुभएको छ।
सदस्यहरूको हितलाई सधैं प्राथमिकतामा राख्ने पोखरेलको धारणा छ कि ईक्यानले आफ्ना सदस्यहरूको व्यावसायिक सुरक्षा, सशक्तिकरण र दिगो विकासका लागि थप सक्रिय भूमिका खेल्नुपर्छ। स्थानीय व्यवसायको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउने उहाँको स्पष्ट दृष्टिकोण रहेको छ।
शैक्षिक, पेशागत र नेतृत्व क्षमतामा सक्षम विकल्प राज पोखरेललाई ईक्यानभित्र एक बौद्धिक, व्यावसायिक र भरोसायोग्य व्यक्तित्वका रूपमा चिनिन्छ। उहाँको अनुभव, प्रतिबद्धता र स्पष्ट कार्ययोजनाले ईक्यानको भविष्यलाई अझ सशक्त, समावेशी र दिगो बनाउने विश्वास गरिएको छ।

















