
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् ।
आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्तासँग छलपल गर्दै महामन्त्री थापाले आफू सहभापतिमा लड्ने घोषणा गरेका हुन् । उनले आफू सभापति बन्ने दाबी समेत गरे । ‘म अहिले पार्टीको सभापतिको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु’, उनले भने ।
महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको बताउँदै उनले अहिले क्रियाशील सदस्यको काम ढिला भएको भन्दै आपत्ति जनाए । उनले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताए ।
महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको उनको भनाइ छ । उनले भने, ‘समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलिअलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’
महामन्त्री थापाले नियमित वा विशेष अधिवेशन हुनै पर्ने बताउँदै महाधिवेशन विना कांग्रेस निर्वाचनमा नजाने बताए ।


















