Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा र रातो बंगलाको सहकार्यमा इसिडी कक्षाको उल्लेखनीय सुधार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ६ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र रातो बंगला स्कुलबीचको सहकार्यमा नगरभित्रका प्रारम्भिक बाल विकास (ECD) कक्षाहरूमा उल्लेखनीय सुधार गरिएको छ। स्थानीय तहको शिक्षामा गुणस्तर वृद्धि गर्ने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रमले बालबालिकाको सिकाइ वातावरण, कक्षा संरचना र शिक्षक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको नगरपालिकाले जनाएको छ।

सहकार्यअन्तर्गत ECD कक्षाहरूमा बालमैत्री सामग्री, सिकाइ–सहायक उपकरण, सुरक्षित कक्षा संरचना तथा सिर्जनशील गतिविधिलाई प्राथमिकता दिइएको छ। बाल–केन्द्रित शिक्षण विधि लागू गर्ने उद्देश्यले शिक्षकहरूलाई तालिम प्रदान गरिएको छ भने कक्षाकोठामा रंगीन भित्तेचित्र, पुस्ताकोट, खेल सामग्री र सिकाइ कुनाहरू स्थापना गरिएको छ।

नगरपालिका र रातो बंगला स्कुलबीच गत २०७९ साल मंसिरदेखि पाँच वर्षका लागि सीपमूलक शिक्षाको विकासका निम्ति विभिन्न तालिम तथा प्रविधिमा सहयोग आदान-प्रदान गर्न सम्झौता भएको थियो। शुक्रबार सम्झौता ३ बर्ष पुरा भएको अवसरमा प्रगति समीक्षा एवंम् प्रतिवेदन सार्वजनिक गरिएको थियो।

सार्वजनिक प्रतिवेदन अनुसार तीन बर्षमा एक बर्षे बालकक्षा बिस्तार भएर दुई बर्षे बाल कक्षा स्थापना, बिगतमा जम्मा २१ वटा बाल कक्षा थिए भने अहिले ३५ वटा बाल कक्षा बिस्तार गर्न सफल, अभिभावक शिक्षा तथा विद्यालय अभिभावक संलग्नतामा सुधार, ‘Learning through play’ विधिबाट कक्षा संचालन, शिक्षकहरुमा प्रभावकारी शिक्षणविधिको सिप विकास, ११ अति आवश्यक बालकेन्द्रित अभ्यासको प्रयोगबाट बालबालिकाहरुको भाषिक सुधारम सामाजिक भावनाको विकास, सिर्जनात्मक भावनाको विकास, साना तथा ठुला मांसपेसीको विकास गर्न मद्धत पुर्याएको, गणितीय सिपको विकास भएको छ।

नगरपालिकामा १५ वटा सामुदायिक विद्यालयमा सार्थक सिकाई कार्यक्रम संचालन गरिएको थियो।

नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार कार्यक्रमले स्थानीय विद्यालयहरूमा प्रारम्भिक सिकाइको गुणस्तर एकरूपता ल्याउने र अभिभावकको विश्वास बढाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। रातो बंगला विद्यालयका प्रतिनिधिहरूले सामुदायिक विद्यालयसँगको साझेदारीलाई दीगो बनाउँदै सिकाइका प्रभावकारी मोडेलहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अभिभावक तथा शिक्षकहरूले पनि ECD कक्षाको वातावरण परिवर्तनसँगै बालबालिकामा देखिएको सिक्ने उत्साह र सक्रिय सहभागिता उल्लेखनीय रूपले बढेको प्रतिक्रिया दिएका छन्।

रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षितले बंगलाको सहकार्यमा इसिडी कक्षाको उल्लेखनीय सुधार भएको उल्लेख गरिन्। यस कार्यक्रमले सैदान्तिक शिक्षालाई परिमार्जन गर्दै प्रयोगात्मक शिक्षालाई प्रोत्साहन गरेकोले सामुदायिक विद्यालयहरुमा पनि बालबालिका लागि उचित वातावरणसहित गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित भएको बताइन्।


प्रतिकृया दिनुहोस्